काठमाडौं – रत्नपार्कको आकाशे पुलको पर्खालमा फ्रन्टलाइनरको सम्मानमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले लेखेको विरोधी नारा काठमाडौं महानगरपालिकाले मेटेको छ । विहान नेवि संघले ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ नारा लेखेको थियो । फ्रन्टलाइनरको सम्मानमा कलाकारले २८ नम्बर वडा कार्यालयबाट अनुमति लिएर बनाएको चित्र मेटेपछि आक्रोशित विद्यार्थीले उक्त नारा लेखेका थिए । तर, उक्त नारा पनि अवैध र अभद्र भएको भन्दै महानगरपालिकाले मेटेको हो ।

‘२०५८ सालदेखि हामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौं,’ काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार, ‘त्यही बेलादेखि काठमाडौं महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौं । त्यहीअनुसार नै ती अभद्र नारा मेटाएका हौं ।’

२०७० सालमा महानगरलाई ‘होडिङ बोर्ड फ्रि काठमाडौं’ घोषणा गरेको भन्दै सापकाटोले सहरी सौदर्यलाई प्रतिकुल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएको बताउनुभयो । उहाँले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको जानकारी दिनुभयो ।

‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन, हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीतिअनुसार गर्न नहुने काम भएकाले मेटाएका हौँ ।’ सापकोटाले राजनीतिक दल र विभिन्न भ्रातृ सङ्गठनलाई समेत विगतदेखि नै पटक–पटक आग्रह गरेको स्मरण गराउँदै त्यस्तो कार्य नगर्न सुझाव दिनुभयो ।