वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट बारा जिल्लामा एकजनाको मृत्यु भएको छ । बिहान खेतमा काम गरिरहेको बेला करिब आठ बजेतिर ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणका कारण मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–२ औधापुर निवासी पटेललाई काम गरिरहेको समयमा जङ्गली हात्तीले आक्रमण गरेको र गम्भीर घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

मृतक पटेलले काम गरेको ठाउँ र जङ्गलको दुरी १५/१६ किलोमिटर टाढा भएपनि जङ्गली हात्ती गाउँमा आएर आक्रमण गरेको प्रहरीले जनाएको छ । बेला बखत पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलबाट हात्ती बाहिर निस्कने भएकोले उक्त हात्ती पनि सोही निकुञ्जको जङ्गलबाट निस्केर आएको हुनसक्ने प्रहरीले बताएको छ ।