तनहुँ – गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा र भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराले १० बाख्रा र एक भैँसी मरेको छ ।

त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलाइ पनि डुम्रे–बेँसीसहर र खैरेनी–भिमाद खण्ड पहिरोका कारण अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेको बरालले बताए । त्यस्तै बन्दीपुर गाउँपालिका– ३ तामुङमा पहिराले दुई जनाको मृत्यु भएको छ । पहिरामा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिराबाट सोही जडाका करिब ३० वर्षीय सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वती थापाका ससुरा, सासु र देवर घाइते भएका छन् । –रासस