युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । विश्व स्वास्थ्य सङ्गठनले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको जानकारी दिएको हो । डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।

कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने सङ्गठनको जोड छ । सङ्गठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले बताए अनुसार, ‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सबै सतर्क हुनुपर्दछ ।” उहाँले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो ।

युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गर्नुभएको छ । उहाँले नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको बताउनुभएको हो ।

निर्देशक हान्स क्लुगले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गर्नुभएको छ । उहाँका अनुसार, ‘खोपले डेल्टा भेरियन्टको कोरोनाभाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ ।’ निर्देशक हान्स क्लुगले युरोपेली देशहरुमा औसतमा २४ प्रतिशतले खोप लगाएको तथ्याङ्क पाइएको पनि सार्वजनिक गर्नुभयो ।