इराक युद्धको घोषणा गर्ने बेलाका अमेरिकी रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ । उहाँलाई इराक युद्धका प्रमुख ‘आर्किटेक्ट’ का रुपमा पनि लिइन्छ । पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनमा रक्षा मन्त्री रहनुभएका उहाँ ‘आतङ्कवाद विरुद्धको युद्ध’ का प्रमुख पक्षधर हुनुहुन्थ्यो ।

सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिकी सुरक्षा बलले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । यस्तै सन् २००३ मा इराकमा युद्ध सुरु गरेको थियो । विवादास्पद द्वन्द्वको नतिजा स्वरुप रम्सफेल्डले सन् २००६ मा रक्षा मन्त्रीबाट राजीनामा दिनुभएको थियो । तर उहाँले युद्धको पक्षमा आफ्नो निर्णयको सदैव बचाउ गर्दै आउनुभयो । तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले रम्सफेल्डलाई निकै राम्रो मानिस र उदाहरणीय सार्वजनिक सेवक रहेको बताउनुभएको छ । रम्सफेल्ड कहिल्यै पनि जिम्मेवारीबाट नभागेको पनि बुसले बताउनुभयो ।

रम्सफेल्डको परिवारले उहाँको निधन मङ्गलबार न्यू मेक्सिकोको ताओस स्थित घरमै भएको जानकारी दिएको छ । सन् १९३२ मा सिकागोमा जन्मिएका रम्सफेल्ड पहिलोपटक सन् १९६० को दशकमा वासिङ्टन डिसी पुग्नुभएको थियो । उहाँले रिचर्ड निक्सन र गेराल्ड फोर्डको प्रशासनमा विभिन्न पदमा रहेर काम गर्नुभयो ।

फोर्डको प्रशासनमा पनि रक्षा मन्त्री बन्नुभएका रम्सफेल्ड त्यो बेला सो जिम्मेवारी पाउने कम उमेरको व्यक्ति रहनुहुन्थ्यो । त्यसपछि बुस प्रशासनमा सो जिम्मेवारी लिँदा उहाँ रक्षा मन्त्री बन्ने पाको उमेरका व्यक्ति बन्नुभएको थियो । उहाँले सन् २०११ मा प्रकाशित मेमोयर मार्फत युद्धको निर्णयको बचाउ गरे पनि आफ्ना केही टिप्पणीहरुप्रति भने खेद जताउनुभएको थियो ।