काठमाडौं – सत्तारूढ एमालेभित्रै मतभेदपछि बजेट बाँडफाँडबारे अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजेपछि बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेट, राजश्व र आयव्ययमाथि छलफल हुने छ । मनलाग्दी बजेट वितरण गरिएको आरोप लगाउँदै एमालेको खनाल–नेपाल समूहका सांसदहरूले असन्तुष्टि जनाइरहेका छन् । त्यसैले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

बजेट बाँडफाँडको विषयमा सत्तासीन एमालेभित्रै विवाद हुँदा सरकारले रातो किताब छापेर प्रदेशसभा सदस्यहरूलाई उपलब्ध गराउन सकेको छैन । असार २ मा बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गर्नुभएको थियो ।