काठमाडौं– विश्वलाई कोरोना भाइरसको सङ्क्रमणले गाँजेको बेला अमेरिकाले आपैंmले यो सङ्क्रमण विरुद्धको खोप किनेर विश्वका ९२ देशलाइ दिने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्न लागेको हो ।
अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारी गरेको छ । त्यसमध्ये यो वर्ष करिब २० करोड खोपको मात्रा उपलब्ध गराइने छ भने ३० करोप खोपको मात्रा आगामी सन् २०२२ मा वितरणको तयारी गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार अमेरिकाले विश्वका कम आय भएका ९२ देशलाई खोप वितरण गर्ने तयारी गरेको हो ।

अमेरिकामाथि यतिखेर विश्वका गरिब मुलुकहरुलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्न दबाब बढ्दै गएको छ । विश्व स्थास्थ्य संगठनले समेत धनी राष्ट्रहरुले गरिब राष्ट्रहरुलाई यो विषम अवस्थामा खोपको मात्रा उपलब्ध गराएर सहयोग गर्न आग्रह गदैै आएको छ । विश्वभर ५० करोड मात्रा खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी दिन भने बाँकी नै छ ।

यता राष्ट्रपति बाइडेनले अमेरिकी सत्ताको नेतृत्व सम्हाले पहिलो विदेश भ्रमणका रुपमा बेलायतमा हुने जी–७ को सम्मेलनमा सहभागी हुन गएपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारी भएको हो । राष्ट्रपति बाइडेन बुधबार बेलुका बेलायत पुगेका छन् । विदेश भ्रमणमा निस्कने क्रममा राष्ट्रपति बाइडेनले आफूसँग विश्वलाई खोप वितरण गर्ने सम्बन्धमा एक योजना रहेको त्यो चाँडै घोषणा गर्ने बताएका छन् ।

राष्ट्रपति बाइडेनले आरएएफ मिल्डेन हलमा रहेको एअरबेसमा अमेरिक सैनिकलाई सम्बोधन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आफ्ना सहयोगी देशहरुलाई धन्यवाद दिँदै अमेरिका फेरि विश्व नेतृत्वमा फर्किएको पनि बताएका छन् ।
बेलायतको भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबिच आज भेटवार्ता हुनेछ । बाइडेन विकसित देशहरुको समूह जी–७ को सम्मेनलका लागि बेलायत पुगेका छन् । जी–७ मा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायतसहित युरोपियन युनियन छन् । अमेरिकी राष्ट्रपतिले यसै भ्रमणको दौरानमा बेलायती महारानीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।