काठमाडौं – गण्डकी प्रदेश सभा बैठक आज मध्याह्न १२ बजेको लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । संवैधानिक व्यवस्था अनुसार उहाँले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उहाँले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनु भएको थियो ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काङ्ग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वाेच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ ।यसअघि मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङेले बुधबार विपक्षी गठबन्धनलाई साथ दिने प्रष्ट सङ्केत गरेसँगै मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।