जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने पक्का भएको छ । जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका मुख्यमन्त्री राउतले सरकारमा सहभागी हुन नेपाली काङ्ग्रेससँग दुई बुँदे सहमति गरेका छन् । जसपा र काङग्रेसबीच आज २ बुँदे सहमति भएको हो । जसपाको तर्फबाट संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउत र काङग्रेसका तर्फबाट संसदीय दलका नेता राम सरोज यादवबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारमा काँग्रेसको तर्फबाट राम सरोज यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ ।

प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमतिपत्रमा उल्लेख छ ।

जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आन्तरिक सहमतिअनुसार काँग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउने भएका छन् । प्रदेश नं २ मा ६ वटा मन्त्रालय रहेकोमा सत्ता समीकरण मिलाउन कामको चाप हेरेर केही मन्त्रालयलाई फुटाएर १० वटा मन्त्रालय बनाइँदै छ । काङग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाम दिए भने आजै साँझ सपथग्रहण हुने बताइएको छ ।