काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ।


नेता जमरकट्टेलले प्रदेश सरकारको आगामी वर्षको नीति कार्यक्रम र बजेटले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको हित विपरित बजेट ल्याए सरकार ढाल्ने र प्रदेशसभामा बजेटमाथि पूर्ण छलफलका साथै सहकार्य नगरी बजेट पास गर्न खोजेमा आफुहरु त्यसको विरोधमा उत्रिने बताउनु भएको छ ।

नेता जमरकट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा प्रमुख प्रतिपक्ष दलले दिएको सुझावलाई ग्रहण गरेर जनतामुखी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने धारणा व्यक्त गर्नु भयो । व्यवहारिक आधारमा वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको भन्दै अङ्क गणित हेरेर बजेट पास गर्न खोजिए संसद्मा प्रतिपक्षको सशक्त भूमिका खेल्ने र बजेट फेल हुने दावी समेत गर्नुभयो ।

‘हामी सबैलाई थाहा छ, प्रदेश सरकार झिनो मतका कारण अङ्क गणितमा मात्र बहुमतमा छ, बहुमतको बल देखाएर बजेट पास गर्न खोजिए बजेट फेल गराउन हाम्रो भूमिका शसक्त हुन्छ, हामी विरोधमा उत्रिन्छौं, भन्दै नेता जमरकट्टेलले ‘प्रदेश सरकारले आगामी वर्ष आवश्यकता र क्षमताभन्दा बाहिरका सुरुङ मार्ग, विद्युतीय बस खरिद तथा सञ्चालन लगायतका योजनाहरुमा बजेट विनियोजन गर्न हुँदैन भन्नु भएको छ ।

नेता जम्कट्टेलले ‘सुरुङ मार्ग तत्कालको आवश्यकता र क्षमताभन्दा बाहिरको कुरा हो, उपयोगिताको हिसावले पनि सुरुङ मार्ग ठिक छैन, हेटौंडावासीका लागि पनि पायक नपर्ने भएकाले प्रदेश सरकारले सुरुङ मार्गको योजना छाड्नु पर्नेमा जोड दिनुभयो । सङ्घीय सरकारले सुरुङमार्ग बनाउने जिम्मा कुनै निजी कम्पनीलाई दिएको भन्दै उक्त कम्पनीको समय सीमा कायम रहँदै सरकारले यसमा हात हाल्न नहुने भन्नुभएको छ ।

नेपालको हालको सडक पूर्वाधार विद्युतीय बस सञ्चालनको लागि उपयुक्त नरहेको भन्दै नेता जम्कट्टेलले सडक पूर्वाधार, चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माण गरेर मात्र बस खरिद प्रकृया गर्नुपर्नेमा जोड दिनुभएको छ । छलफल र सहकार्य गरी प्रतिपक्षको सुझाव पनि ग्रहण गरेर समस्याको हल गर्न र जनताको हितमा प्रदेश सरकारले योजना र कार्यक्रम ल्याएर बजेट पास गर्न पूर्वमन्त्री समेत रहनुभएका जमरकट्टेलले आग्रह गर्नुभएको छ ।

बागमती प्रदेश सरकारले सत्ताको दम्भ देखाउन खोजिए प्रतिपक्ष पनि चुपलागेर नबस्ने र त्यसको विरोधमा सशक्त रुपमा उत्रिएर बजेट पास हुन नदिने ठोकुवा समेत गर्नुभएको छ ।