नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप तीनजना सङ्क्रमितको मृत्यु भएको छ । यसरी मृत्युहुनेमा बाँके, बर्दिया र प्यूठानका सङ्क्रमित हुन् । उनीहरुमध्ये भेरी अस्पतालमा बाँके कोहलपुर नगरपालिका वडा नम्बर ६ की ४० वर्षीया महिलाको र बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ की ८० वर्षीया महिलाका मृत्यु भएको हो भने कोहलपुर मेडिकल कलेजमा प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नम्बर ६ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बाँकेकी महिलालाई जेठ १३ गते पीसीआर परिक्षण पछि भेरी अस्पताल र प्युठानका पुरुषलाई जेठ ९ गते एन्टिजेन परिक्षण गरिएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । बर्दियाकी महिलालाई जेठ १८ गते पीसीआर गरिंदा भाइरसको सङ्क्रमण देखिएपछि उनलाई त्यही दिन भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ३ सय ४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३ सय २४ जनाको मृत्यु भइसकेको छ ।