काठमाडौं – कतारमा हुने आगामी विश्वकपको संस्करणको लागि भएको छनोट खेलमा आज बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई अन्तिम समयमा स्तब्ध बनाइदिएको छ । दक्षिण अमेरेकी राष्ट्र अर्जेन्टिना अन्तिम समयमा सम्हालिन नसक्दा कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकिन बाध्य भएको छ । आज बुधबार बिहान भएको खेलमा २–१ को अग्रता लिएको अर्जेन्टिनालाई कोलम्बियाले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरी गरेको हो ।

खेलको तेस्रो मिनेटमा अर्जेन्टिनाले गोलको खाता खोलेको थियो । अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोलगर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए । खेल सुरु भएको २० मिनटभित्रै २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो खेलमा गोललाई निरन्तता दिन सकेन ।

उत्तरार्धको समयपछि कोलम्बिया खेलमा फर्कंदै ५१ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई खेर नफाली लुइस मुरिएलले गोलमा परिणत गरिदिए । एक गोलले पछि परेको कोलम्बियाले अर्जेन्टिनामाथि दवाव सिर्जना गरिराख्यो । अन्तत कोलम्बियाले खेलको अन्तिम समयमा मिगुएल बोर्जाको गोलको मद्दतबाट अर्जेन्टिनासँगको खेललाई बराबरीमा पुर्याएर सकायो । अन्तिम समयमा सम्हालिन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिन पुग्यो । विश्वकप छनोट खेलमा अर्जेन्टिनाको यो लगातार दोस्रो र समग्रमा तेस्रो बराबरी हो । अपराजित अर्जेन्टिना ६ खेलमा १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने कोलम्बिया ६ खेलबाट ८ अङ्क जोडेर पाँचौं स्थानमा छ ।

यसैगरी अर्को खेलमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ । उरुगेवे ६ खेलबाट ८ अङ्कसहित चौंथो स्थानमा छ । अर्को खेलमा पेरुले तेस्रो स्थानको इक्वेडरलाई २–१ ले पराजित गर्दै पहिलो जित निकालेको छ । इक्वेडर ६ खेलबाट ९ अङ्कसहित तेस्रो स्थामा छ । पेरु ४ अङ्कसहित १० औं स्थानमा रहेको छ ।