काठमाडौं– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसमाथि मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमण गर्न दबाब बढ्दै गएको छ । उपराष्ट्रपति ह्यारिससँग एनबिसी न्यूजले लिएको अन्तर्वार्तामा अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा किन नगएको भनेर पत्रकारले सोधेको प्रश्नलाई लिएर ‘चर्को विवाद’ भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ग्वाटेमालासहितको भ्रमणमा रहेका बेला अवैध आप्रवासीलाई अमेरिका नआउनका लागि दिएको चेतावनीलाई लिएर डेमोक्र्याटिक पार्टीकै सदस्यहरुले उपराष्ट्रपति कमलाको आलोचना गरिरहेका छन् । राष्ट्रपति जो बाइडेनले उनलाई अवैध आप्रवासनको समस्या समाधान गर्ने विषयको जिम्मेवारी दिएका छन् ।

यो वर्षको अप्रिलमा करिब एक लाख ७८ हजार अवैध आप्रवासीहरु अमेरिकाको सीमा क्षेत्रमा आएका छन् । यो सङ्ख्या दुई दशकभन्दाकै सबैभन्दा धेरै हो । सीमा क्षेत्रमा अवैध रुपमा प्रवेश गरेका आप्रवासी बालबालिकालाई राखिएको स्थान तथा व्यवस्थालाई लिएर आलोचना हुँदै आएको छ ।

सुरुमा उपराष्ट्रपति कमलाका कर्मचारीहरुले सीमा भ्रमण प्राथमिकतामा रहेको बताएका थिए । तर पछिल्लो समय उनीहरु ह्यारिसलाई राजनीतिक रुपमा खराब अवस्थामा पर्नबाट जोगाउनका लागि प्रयासरत देखिन्छन् ।

पछिल्ला सर्वेक्षणहरुमा बाइडेन प्रशासनको आर्थिक तथा महामारी नियन्त्रणका लिएको नीतिप्रति सामान्यतया सकारात्मक अवधारणा देखिएको छ । तर आप्रवासन समस्या समानका सम्बन्धमा भएका प्रयास भने अलोकप्रिय नै रहेका छन् ।