धनुषा – प्रदेशसभा बैठक सुरु हुनासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् ।  प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जानकारी दिनु भएको छ ।
   विपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठक सुरु भए लगत्तै बिरोध जनाएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गर्नु भएको थियो । विपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसँग समन्वय गरी योजना छनौट गरेर अख्तियारी पठाउने निर्णय गरेपनि सरकारले आफू खुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाउनु भएको छ ।
   उहाँले आफूहरुसँग योजना माग त गरियो तर ती सबै योजनालाई रद्दीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएपछि बैठक अवरुद्ध गरेको स्पष्ट पार्नुभयो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको सरकारले दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।