काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नयाँ रेकर्ड नै कायम भयो । सोमबार भने स्थिर देखिएको सेयर बजार  आज मङ्गलबार भने पुनः नयाँ रेकर्ड कायम गराउन सफल भएको छ । आज मङ्गलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अङ्कले बढेर २ हजार ९ सय ६० दशमलव १४ अङ्कमा पुगेको छ । यो हालसम्मकै उच्च हो । नेप्सेले परिसूचकमा नयाँ रेकर्ड राख्यो भने कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुग्यो ।
   एक लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ नाघ्यो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अङ्कले बढेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहहरु बढ्दा होटल तथा पर्यटन र लघुवित्त समूहका लगानीकर्ताहरुले भने धेरै कमाउन सकेनन् । बजारमा उल्लास देखिदा पनि यी दुई समूहको सबइन्डेक्स भने घटेको छ ।
  लघुवित्त समूह २४ दशमलव २१ अङ्कले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । लगानी समूह पनि ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ । सबैभन्दा धेरै विकास बैंक ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ भने फाइनान्स समूह ८ दशमलव ७१ प्रतिशतले उकालो लागेको छ ।