अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोग गर्न विकास गरिएको अडुकेनमाब नामक एक औषधीलाई स्वीकृति प्रदान गरेको छ ।अडुकेनमाब उक्त औषधी अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । पछिल्लो समयमा विश्वभर अल्जाइमरका बिरामीहरुको सङ्ख्या बढ्दै आएको छ । झण्डै २० वर्षयता पहिलोपटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो ।

यो औषधिले अल्जाइमरका लक्षणभन्दा अल्जाइमरका कारण निम्तने डिमेन्सियासहितको स्वास्थ्य समस्या रोक्नका लागि काम गर्ने देखिएको छ । अल्जाइमरको क्षेत्रमा काम गर्दै आएकाहरुले औषधिलाई स्वीकृति प्रदान गरिनु सकारात्मक रहेको बताएका छन् । तर वैज्ञानिकहरुमा भने परीक्षणको नतिजामा अनिश्चितता रहेका कारण वैज्ञानिकहरु विभाजित भएका हुन् ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले भनेको छ, ‘परीक्षणका प्रमाणहरुले अडुकेनमाबले मस्तिष्कमा अमालोइड बिटा प्लाक्सको मात्रा कम गर्ने देखिएको छ । जुन अल्जाइमरका बिरामीका लागि सहयोगी हुने देखिन्छ ।’

सन् २०१९ मा भएको अडुकेनमाबको अन्तिम चरणको अन्तर्राष्ट्रिय परीक्षणमा झण्डै तीन हजार बिरामी सहभागी थिए । सो औषधि स्मरण शक्ति क्षयीकरणमा सहयोगी नभएको भन्दै परीक्षण रोकिएको थियो । तर सोही वर्ष अमेरिकी उत्पादक बायोजेनले थप तथ्याङ्कहरुको विश्लेषण गर्दा औषधिले काम गरेको देखिएको थियो । अल्जाइमर जर्मनका एक शोधकर्ता चिकित्सकले पत्तालगाएका थिए ।