काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीका लागि केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताउनु भएको छ । मेयर शाक्यले कोभिड–१९ सङ्क्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुने बताउनुभयो ।
  यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडा स्तरीय छलफलमा मेयर लगायत सबै सहभागी हुने बताउनुभएको छ  । उहाँले नगर क्षेत्रका सङ्क्रमित तथा निधन भएका परिवारलाई केहि सहायता उपलब्ध गराउनुका साथै काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाको कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने बताउनु भएको छ ।
  मेयर शाक्यले नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको बताउनुभयो । महानगरका करदातालाई परेको असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने र काठमाडौं महानगरले गरिरहेका नियमित कामलाई पनि प्राथमिकताको आधारमा वर्गीकरण गरेर योजना कार्यक्रम बनाइने बताउनु भएको छ ।