विराटनगर– मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई नेपाली राजनीतिमा पनि कोभिड सङक्रमण देखिएको टिप्पण गरेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उक्त धारणा व्यक्त गरेका हुन् । मुख्यमन्त्री राईले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई उक्त राजनीतिकको कोभिडले निलेको जिकिर गरे ।

अहिले पनि नेपाली राजनीतिमा त्यो कोभिडको सङक्रमण जारी रहेको बताए । मुख्यमन्त्री राईले ‘नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन’ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा व्यक्त गरे । आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको प्रस्ट पारे ।

प्रदेश १ को प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको बताएका छन् । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री शेरधन राईले सङ्घीयता शिशु अवस्थामा छ रहेको र यसलाई हुर्काउने, बढाउने तथा दरिलो गतिमा उभ्याएर रेलको गतिमा दौडाउने जिम्मेवारी आफूहरुको काँधमा रहेको दावी गरे ।