सुर्खेत – कर्णाली प्रदेशमा सरकार र प्रतिपक्षी दलविच विवाद उत्पन्न भएको छ । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन् । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सोमबार सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गरेका थिए ।

एमाले नेता कँडेलले भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका छन् । उक्त माग सम्बोधन नभए संसद अवरुद्ध गर्ने एमालेले चेतावनी दिएको छ ।

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् । ‘कुनै पनि व्यक्तिले राजनीतिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन’, – एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले चेतावनी दिएका छन् ।