काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । यससँगै हालसम्म देशभर कोरोना सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ९१ हजार ९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय कोरोना भाइरसबाट सङक्रमित हुनेको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त हुनेको सङख्यामा उलेख्य बृद्धि हुँदै गएको छ । हिजो शनिबार ८ हजार २ सय ४३ तथा शुक्रबार ८ हजार ६ सय ६३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भै डिस्र्चाज भएका थिए ।

आज पछिल्लो २४ घण्टामा देशभर ९९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल देशभर देशभर सक्रिय सङ्क्रमितको संख्या ८९ हजार २ सय १७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा आज १ हजार १३१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७ सय ३१ जना, भक्तपुरमा १ सय ४६ जना र ललितपुरमा २ सय ५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । उपत्यकामा पनि केही दिन यता सङ्क्रमित हुनेको सङ्ख्यामा कमी हुँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।