काठमाडौं – राष्ट्रिय जनमोर्चाले कारवाही गरेको आफ्नो सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । केही दिन अघिमात्र राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै प्रदेशसभा सदस्य पदसमेत नरहने गरी पार्टीबाट निस्काशन गरेको थियो । कारवाहीमा परेका सांसद थापा न्याय माग्दै पुनर्बहालीका सर्वोच्च अदालत पुगेका थिए ।

अदालतले प्रदेशसांसद थापाको पक्षमा आदेश गर्दै ‘निजको सांसद पद नरहेमा निजको काम कर्तव्य र अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षतिसमेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजको गण्डकी प्रदेशसभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु, नगराउनु, निज निवेदकलाई प्रदेशसभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु, नगराउनु’ भनिएको छ ।