जनकपुरधाम– केन्द्रीय सत्ताको छिर्का सबै प्रदेश सरकारमा पनि परेको छ । कुनै प्रदेशको सरकार विवादरहित हुन सकेन । अहिले प्रदेश नं. २ मा पनि केन्द्रीय राजनीतिको प्रभाव पर्न गएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बीच एकीकरण पश्चात गठन भएको जनता समाजवादी पार्टीको अन्तरद्वन्द्वले नयाँ बाटो समातेको छ प्रदेश नम्बर २ मा । लामो समयपछिको अन्तरालमा प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।


जसपा महन्थ ठाकुर समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि दुई नं.प्रदेशको सत्तामा पनि परिर्वतन हुने भएको छ । जसपामा अध्यक्ष उपेन्द्र यादवको बहुमत सांसद रहेकोले यादव पक्षका मुख्यमन्त्री राउतलाई संसदीय दलको नेतामा चयन गरेको छ । संसदीय दलमा चयनसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने भएको छ । यससँगै प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ । केन्द्रीय गठबन्धको जस्तै दुई नं. प्रदेशमा पनि मुख्यमन्त्री राउतकै नेतृत्वमा गठबन्धन दलका सांंसदहरु सरकारमा सहभागी हुने देखिन्छ ।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकबाट संसदीय दलको नेतामा राउतलाई चयन गरिएको हो । उक्त बैठकबाटै जसपाको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता समेत चयन गरिएको छ । केन्द्रीय सरकारमा महन्थ–राजेन्द्र समुह ओली सरकारमा सहभागी भएसँगै प्रदेश नम्बर २ मा समेत सरकार पुनर्गठन हुने अनुमान गरिएको थियो । पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा संसदीय दलको बैठक बोलाएर संसदीय दलको विधान पनि पारित गराएका हुन् ।

बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० र तत्कालिन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले सो निर्णयमा हस्ताक्षर गर्नुका साथै अन्य केही प्रदेशसभा सदस्यहरुलाई समेत पक्षमा ल्याउने तयारी भइरहेको ती नेताको भनाइ छ ।

सत्ता समीकरण मिलाउनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग–अलग बनाउन लागिएको छ । यादव पक्षले नेपाली काङ्ग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदारीका लागि छलफल अघि बढाइसकेको छ । यो हप्ता भित्रै प्रदेश नं. दुई गठबन्धनको सरकार निर्माण हुने देखिन्छ ।