एजेन्सी
अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीप्रति अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पुनः तिखो भाषिक आक्रमण गरेका छन् । उनले भने, ‘उनी हरेक पटक गलत साबित भएका छन् । हरेक मुद्दामा गलत साबित भए । ऊहानको मामिलामा उनी गलत थिए र मास्क लगाउने बारेमा पनि ।’ ट्रम्पले ‘लगातार टिभी शोमा देखिने डाक्टर फाउची एक महान डाक्टर नभई एक महान प्रचारक हुन्’ भनेका छन् । ट्रम्पले डाक्टर फाउचीमाथि उनले महामारीका लागि राम्रोसँग प्रबन्ध नमिलाएको आरोप लगाए ।

नर्थ क्यारोलाइनामा भएको रिपब्लिकन पार्टीको एक सम्मेलनमा डोनल्ड ट्रम्पले आफ्ना पार्टीक तीन नेतालाई सही ठहराए जसले लगातार फाउचीमाथि प्रश्न उठाइरहेका थिए । राष्ट्रपति पदबाट च्युत भएपछि ट्रम्पले पहिलो पटक रिपब्लिकन पार्टीका नेतालाई सम्बोधन गरेका हुन् ।

‘कोरोना भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको हो’ यद्यपि, यो विषयमा अहिलेसम्म पनि वैज्ञानिकले कुनै सटिक प्रमाण पाएका छैनन् । तर ऊहान थ्योरीको निकै चर्चा छ र अमेरिकी एजेन्सी यसबारे अनुसन्धान गरिरहेका छन् । ट्रम्पले पटक पटक यस्तो धारणा व्यक्त गर्दै आएका छन् ।

रिपब्लिकन पार्टीका नेतालाई सम्बोधन गर्ने क्रममा पूर्वराष्ट्रपति ट्रम्पले चीनसँग क्षतीपूर्तिको माग पनि गरे । उनले भाइरसको विषयमा गम्भीरता नअपनाएको र स्थिति सम्हाल्न नसकेका कारण चीनले १० ट्रिलियज डलरको क्षतिपूर्ति तिर्नुपर्छ भनेका छन् । यद्यपि, डोनल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव हार्नुको एउटा ठूलो कारण कोरोना महामारीको कुप्रबन्धन पनि थियो । उनको कार्यकालमा कोरोना महामारीका कारण पाँच लाखभन्दा बढीको मृत्यु भएको थियो ।
बीबीसी