काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई खुकुलो पारेसँगै राजधानीका सडकहरुमा यातायातका साधनहरुको चाप देखिएको छ । उयत्यकामा आजदेखि ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्लाअधिकारी र सुरक्षा निकायहरुको संयुक्त बैठकले निषेधाज्ञालाई केही खुकुलो पारे पनि निजी तथा सार्वजनिक यातायात चल्न दिने सम्बन्धी कुनै निर्णय गरेको छैन । तर पनि आज राजधानीका सडकहरुमा निजी गाडी र मोटरसाइकलहरु धेरै नै गुडेका छन् ।

रामशाह पथस्थित ट्राफिक प्रहरी कार्यालयले अनुसार अरुदिनको तुलनामा आज उपत्यकाका सडकहरुमा निजी सवारी साधनहरु धेरै गुडेका छन् । निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको ट्राफिक प्रहरीको आङ्कलन छ । प्रहरीले भने अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ ।