काठमाडौं– काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेअनुसार आजदेखि काठमाडौं उपत्यकामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) नौ बजेसम्म खोल्ने व्यवस्था गरेको छ ।

उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सुरक्षा निकायहरुसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा बिहान ९ बजेसम्म किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । गत १४ गतेदेखि हिजो २० गतेसम्म पूर्णतया यसपसलहरु खोल्न रोक लगाइएको थियो ।

उपत्यकामा निषेधाज्ञालाई केही खुकुलो पार्दै यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमाथि रोक लगाइँदै आइएको छ ।
यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो। औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्ने छ ।

निषेधाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।।
अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यसैगरी अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ। घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ ।

भीडभाड नहुने गरी नित्यपूजाका गतिविधिमात्रै गर्न पाइने व्यवस्था गरिएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुई जना हिँड्न पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ ।

सुरक्षा गार्डले पोशाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् । सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको बैठकले मानिसहरुको बढी भिडभाड र जमघट हुने ठाउँहरुलाई रोक लगाएको छ । जस्तौ शैक्षिक गतिविधि, अत्यावश्यक सेवा दिने बाहेकका कार्यालयका सेवाहरु स्थगन गर्ने निर्णयलाई निरन्तरता दिएकोे छ । सर्वसाधारण नागरिकले औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् भने निजी तथा सार्वजनिक सवारी साधनहरु पनि सञ्चालन गर्न निषेध गरिएको छ । फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ ।
कुनै कसैले निषेधाज्ञालाई बेवास्ता गरी आदेश पालना नगरेको खण्डमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने काठमाडौं जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।