काठमाडौ— विश्वकप छनोटमा अन्र्तगत बिहीबार राती कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपालले जित निकालेको छ । नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु भएको खेलको ४ मिनेटमा नेपालले पेनाल्टीमार्फतन् पहिलो गोल गर्दै चिनियाँ ताइपेईविरुद्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

त्यसैगरी खेलको मध्यान्तर पछि दोस्रो हाफमा नेपालले चलाखी पूर्ण खेल खेल्दै पुनःएक गोल थप्यो । दोस्रो हाफपछि सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गर्दै नेपालको जितलाई सुनिश्चित गरे । नवयुगले टिममेट सुमन अर्यालको क्रसमा गोल गरे थिए ।

दोस्रो लिग अन्तर्गत हिजो भएको खेलमा ताइपेईका खेलाडी चेङ हाउको हातमा बल लागेपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई सहि दिशा दिंदै नेपालका लागि अञ्जन विष्टले गोल गर्दै जालि चुमाएका थिए । नेपालका लागि अञ्जनको यो चौंथो अन्तर्राष्ट्रिय गोल हो ।

समग्रमा नेपालले खेललाई पूरै आफ्नो नियन्त्रणमा राखेको थियो । मध्यान्तर अघिको खेलमा निरिह देखिएको चाइनिज ताइपेई मध्यान्तर पछिको खेलमा भने केही आक्रामक देखिएको थियो । तर नेपाली डिफेन्डरका पछाडि ताइपेई निरिह सावित भए । खेलको ६० मिनेटपछिको केही समय ताइपेइले नेपालका लागि निकै दवाव सिर्जना गरेको थियो । तर गोलको खाता भने खोल्न सकेन । टिम स्पिरिडमा खेलेको नेपालले ताइपेइ पोष्टमा धेरै पटक आक्रमण गरेको थियो । नेपालले खेलको इन्जुरी समयमा पनि गोलको नजिक पुगेको थियो । तर गोल गर्न भने सकेन ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो । नेपालले यसअघि २०१९ मा भएको पहिलो लिगको छनोट खेलमा पनि २–० को अग्रताले जित निकालेको थियो । छनोटकै खेलमा चाइनिज ताइपेईलाई २–० ले हराउँदा दुवै गोल अन्जन विष्टले नै गरेका थिए । सन् २०२२ मा हुने विश्वकप र सन् २०२३ मा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको हो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि जेठ १५ गते उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जसमा नेपाल ६–२ गोल अन्तरले पछाडि परेको थियो । समूह ‘बी’ मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अङ्क नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अङ्क जोडेको थियो । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

तस्बिर ः कुवेत फुटबल संघ