काठमाडौं– नेपालमा कोरोना भइरसको नयाँ भेरियन्ट देखापरेको भनेर बेलायती पत्रिकाले लेखेको सार्वजनिक भएको छ । तर नेपाल सरकारले भने कोरोना भाइरसको नेपाल भेरियन्ट अहिलेसम्म पुष्टि नभएको बताएको छ ।

आज बेलायतबाट प्रकाशित हुने टेलिग्राफ र डेलिमेललगायतका न्युज पोर्टलहरुले वैज्ञानिकहरुलाई उद्धृत गर्दै नेपालमा भेरियन्ट देखा परेको उल्लेख गरेका थिए । समाचारहरुमा पोल्चुगलमा नेपाली भेरियन्ट भेटिएको उल्लेख गर्नुको साथै नेपाली भेरियन्ट निकै कडा भएको भन्दै त्यसले युरोपमा समेत निकै क्षति पु¥याउने उल्लेख गरेका थिए । नेपालमा नयाँ भेरियन्ट भेटिएको भनेर टेलिग्राफले समाचार प्रकाशित गरेपछि नेपाल सरकारले बेलायत सरकारसँग जानकारी माग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी गराउनु भएको छ ।

प्रवक्ता डा. पौडेलले ‘नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेका छौं । बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दाबी गरिएका छन् । तर हामीलाई यसबारे कुनै जानकारी छैन’ भन्नुभएको छ ।
विश्व स्वास्थ्य संगठनले भने नेपालमा अहिलेसम्म अल्फा, डेल्टा र कप्पा भेरियन्ट बाहेक अरु नयाँ भेरियन्ट नदेखिएको प्रष्टपारेको छ ।