पोखरा – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्न आज गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा (२) तथा ३६ को उपदफा (१) बमोजिम मा. कृष्ण थापालाई सांसद पदबाट हटाई स्थान रिक्त गराइदिन अनुरोध छ, सचेतक पियारी थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । आजै बस्ने प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै थापा प्रदेशसभा सदस्य पदबाट मुक्त हुनेछन् ।