खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो ।

गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनु भयो ।
वडाध्यक्ष न्यौपानेकाअनुुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतबाडा र खड्काबाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुवै सीमा जोडिएका गाउँ हुन् । गाउँमा कोरोना भाइरस सङ्क्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेशन कक्ष समेत थप गर्ने निर्णय गरेको छ ।
मङ्गलबार उक्त गाउँका २७ जनामा एन्टिजेन परिक्षण गर्दा नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबैलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गाउँपालिकाले बनाएको आइसोलेसन केन्द्रमा राखिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधबार गाउँका ५५ घरधुरीका १०९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको बताए । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन ।

स्वास्थ्य संयोजक चौलागाईंका अनुसार ‘गाउँमा कोरोना सङ्क्रमण भयावह हुन सक्ने अवस्था आयो, गाँउ नै सिल गर्ने निर्णय भयो । विगत एक सातादेखि गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाइएको हो । एकै पटक ठूलो सङ्ख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब सङ्कलन गरिएको हो ।

यसअघि रावतबाडा गाउँमा विवाहलगायतका सामूहिक गतिविधि तीव्र भएका थिए । काठमाडौँ, सुर्खेत र भोजपुरलगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोरोना लक्षणका बिरामी बढेको थाहा पाएपछि वडाध्यक्ष विशाल खड्काले स्वास्थ्यकर्मीसहित गाउँमा पुगेको बताउनु भयो ।

उनका अनुसार बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टिजेन परीक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाइएको थियो । गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी पुगेर सचेतना फैलाउनेदेखि लक्षणअनुसारको औषधि दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाईंले बताउनु भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रकाशन गरेको तथ्याङ्कअनुसार जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २८ पुगेको छ भने १ सय ८९ जना निको भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर र एन्टिजेनमार्फत् कोरोना परीक्षण गर्दै आएको छ । रासस