– रासस
काठमाडौं – देशभर कोभिड–१९ का नयाँ सङ्क्रमितको संख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आईसीयू चाहिएर भर्ना भएका सङ्क्रमितको संख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भएता पनि समस्या भएर अस्पताल भर्ना हुनेको संख्या कम भएको छैन । एक साता यताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका शय्यामा २ सय २५ र अरू शय्यामा २ सय १० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उनले भने, ’बच्चाको एनआईसयुबाहेक अरू आईसीयू सधैँ भरिभराउ रहेका छन् ।’
अस्पतालमा पनि पीसीआर परीक्षणका लागि आउनेको संख्या केही कम भए पनि भर्ना हुनेको संख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद सङ्क्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका संख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताए । उनले भने, ’एक सातायता पिसिआर परीक्षणका लागि अस्पताल आउनेको संख्या पनि घटिरहेको छ ।’अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ । आवश्यकताअनुसार कोभिडका लागि शय्या बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताए । अहिले नयाँ भेरियन्टसहित सङ्क्रमण देखिन थालेसँगै अरू शय्यालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय शय्या र अरूका लागि ३ सय ५० शय्या छ । उनले भने, ’सबै शय्यामा नै बिरामी झण्डै भरिएका छन् ।’
अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई सुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ सेवाका लागि आइरहेका छन् । उनले भने, ’अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।’ अस्पतालले कोभिडका लागि ३० आईसीयू र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आईसीयू र बालबालिका लागि एआईसीयू गरी २० आईसीयू रहेका छन् । संक्रमण बढिरहँदा आवश्यकताअनुसार नै शय्या बढाउँदै लगिएको निर्देशक शाक्यले बताए । उनले भने, ’संक्रमण सुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।’
अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताए । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय शय्यामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो । अहिले अक्सिजनको अस्थायी समाधान भएको उनले बताए । अस्पतालमा आईसीयूमा क्षताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उनले जानकारी दिए । सङ्क्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले यस वर्ष सजग भएर पहिले नै आवश्यक संख्यामा पीपीई, पञ्जा र औषधि राखेको थियो । तीन महिनालाई पुग्ने गरी पहिले नै राखिएकाले समस्या नभएको उनले बताए । अस्पताल आफैँले अक्सिजनको व्यवस्थापन गर्न खोजेकोछ ।
अबको दुई सातामा ठूलो अक्सिजन प्लान्ट बनाइने र त्यसका लागि आवश्यक सामान बाटोमा नै रहेको उनले बताए । उनले भने, ’दुई सातापछि अक्सिजनमा आत्ममनिर्भर बन्न सकिनेछ ।’अस्पतालमा आएका बिरामीका आधारमा गत वर्षभन्दा यस वर्ष संक्रमितमध्ये गम्भीर समस्या हुनेको अनुपात बढी छ । पहिले बढी उमेर समूह, दीर्घ रोग भएका व्यक्तिमा मात्रै गम्भीर समस्या भएको थियो । अहिले सबै उमेर समूहमा अक्सिजन वा आईसीयू चाहिने देखिन्छ । गत आवमा थोरै संख्यामा मात्रै संक्रमित भएकाले सरकारले समस्या नभएका संक्रमितलाई समेत भर्ना गरेको थियो । उनले भने, ’अहिले गम्भीर भएका मात्रै आइरहेका छन् ।’ अस्पतालले गत वर्ष बनाएको योजनाअनुसार नै कोभिडका लागि लक्षित शय्या छुट्याइरहेको छ । अहिलेसम्म झण्डै आधा शय्या छुट्याइएकामा आवश्यक पर्दा पूरै अस्पतालका ६ सय ५० शय्या नै कोभिडका लागि छुट्याएर ‘कोभिड अस्पताल’ बनाउन सकिनेछ । अस्पतालले आवश्यक पर्दा परिसरमा टेन्ट राखेर उपचार गर्न सकिने जनाएको छ ।