काठमाडौं – केही समयदेखि निरन्तर उकालो लागेको शेयरबजार यतिबेला अस्थिर बन्न थालेको छ । बजार करेक्सन भएदेखि ओरालो यात्रा सुरु भएको अड्कल बाजी भइरहँदा लगानीकर्ता भने असुरक्षित महसुस गर्न थालेका छन् । आइतबार एकैदिन नेप्से सूचकसहित कारोबार रकम बढेर १७ अर्बमा पुगेपछि हौषिएका लगानीकर्ता सोमबार र मङ्गलबारको कारोबार देखेपछि झस्किएका छन् । एकैदिन नेप्से सूचकसहित कारोबार रकमले अलटाइम हाई रेकर्ड ब्रेक गर्छ । अझ कसैले कल्पना पनि गर्न नसक्ने गरी ९ अर्बको हाराहारी रहँदै आएको कारोबार रकम एकैदिन १७ अर्बसम्म पुग्छ ।
 लगानीकर्ता एकैदिन हौषिएर महँगोमा पनि शेयरमूल्य उठाउन होडबाजी गर्छन् त्यसलगत्तै बजार राताम्मे बन्छ । यसरी पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावलाई लिएर अहिले लगानीकर्ताहरू बुल ट्रयापमा पो परिएको हो कि भन्ने आशंका गर्न थालेका छन् । बुल ट्रयापमा परेको गुनासो बढ्न थाले पनि बजारमा एउटालाई डुबाएर अर्को लगानीकर्ताले नाफा कमाउनु बजारको विशेषता भएकाले लगानीकर्ता आफैँ सजग हुनुपर्ने अवस्था आएको छ । एक लगानीकर्ता आफूले २६ सय ६० रुपैयाँ प्रतिकित्तामा किनेको शेयर केही दिनभित्रै  १७ सय रुपैयाँमा बेच्नु परेको गुनासो गर्छन् ।
‘दोस्रो बजारको कारोबारमा आएसँगै शेयरमूल्य रफ्तारमा बढ्न थाल्यो । समाचारदेखि फेसबुक भरी ९ हजारमा पुग्छ भन्ने हल्ला चल्यो । अहिलेसम्म हल्लामा नै भए पनि बढेकै छ, भोलि पनि बढ्छ भनेर २६ सय ६० नै हालेर किनेँ । ९ हजार नपुगे पनि ५ हजारसम्म पुग्यो भने नाफा कमाउँला भन्ने सोचेको किनेको केही दिनमै लगातार घट्न थालेपछि पो थाहा पाएँ कम्पनी घाटामा रहेर अझै केही वर्ष लाभांशसमेत दिन नसक्ने रहेछ,’ एक लगानीकर्ताले भने, ’त्यसपछि १७ सयमा नै घाटा खाएर बेचेँ ।’ ९ हजारसम्म पुग्ने हल्लामा लागेर किनेका उनले केही दिनमै कित्तामा ९ सय रुपैयाँ घाटा खाएर शेयर बेचे । उनले ५० कित्ता किनेका शेयर ४ हजार ५ सय रुपैयाँ घाटा खाएर बेच्नु परेको सुनाए । 

के हो बुल ट्रयाप भनेको ?
बुल ट्रयाप शेयर बजारमा क्रियाशील ठूला लगानीकर्ताहरूले गर्ने एक प्रकारको चलखेल हो । शेयर बजारमा क्रियाशील तर अल्पकालीन लगानीकर्ता वा एउटा चलाख समूहहरूको झुण्ड हो जसले आफ्नो सीमित उद्देश्य पूरा गर्न कृतिम खरिद चाप सिर्जना गरी नाफा कमाउने उद्देश्यका साथ सूचक वा धितोपत्रको मूल्य बढाउने काम गर्छन् । यसरी विभिन्न अफवाहमूलक सन्देश फैलाएर सोझा लगानीकर्तालाई मेनिपुलेट गरेर शेयर किन्न उक्साउने र अप्राकृतिक रूपमा मूल्य बढाउने उनीहरूले गर्ने गर्छन् ।
कसरी फसिन्छ ?
घटेको बजारमा होस् या बढेको बजारमा दुवैमा ट्रयापिङको सम्भावाना उच्च रहने गर्दछ । अझ हिजोआजको जस्तो अस्थिर बन्दै गएको बजारमा त सोझासाझा लगानीकर्ता फस्ने सम्भावना अझै धेरै हुन्छ । बजारको विशेषता घट्ने बढ्ने भए पनि स्वार्थपूर्तिका निम्ति वा छोटो समयमा मोटो रकम हात पार्ने हेतुले पनि बुल बजारमा नै केही लगानीकर्ता पासो थापेर बसिरहेका हुन्छन् । यस लगानीकर्ताले नराम्रो अथवा सस्तो मूल्य भएका कम्पनीको शेयरलाई उचााल्ने र पर्छार्ने काम गर्छन् । यसरी उचाल्न उनीहरू आफैँ खरिदकर्ता र बिक्रेताका रूपमा प्रस्तुत हुन्छन् । यसरी कृतिम माग खडा गरेर मूल्य उचालेपछि आमलगानीकर्ता बढेको बजार देखेर लोभिन्छन् ।
अझ तिनीहरूकै केही व्यक्ति सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट सो कम्पनीको मूल्य बढेर जाने अभिव्यक्ति दिने गर्छन् । यसैको विश्वासमा परेर बढेको मूल्यमा अझै कमाउने लोभले सोझा लगानीकर्ताले शेयर किन्छन् । जब लगानीकर्तामा लोभ बढ्दै जान्छ यता ती लगानीकर्ता सुटुक्क बाहिरिन्छन् । एकैचोटि ठूलो मात्रामा लगानीकर्ता बाहिरिएपछि शेयर ओरालो लाग्न थाल्छ । यस्तोबेला उचालिन सुरु गरेको विन्दु वा सोभन्दा तल मूल्य पुग्ने गर्दछ । तब मात्र लगानीकर्ताले आफू ट्रयापमा परेको चाल पाउँछन् जतिबेला उनीहरूको पैसा डुबिसकेको हुन्छ ।
कसरी बच्ने ?
शेयरबजारमा गरिने लगानीमा शेयर क्रेता र बिक्रेताको निहीत स्वार्थगत जोखिम, मूल्य घटबढको जोखिम, कम्पनीको व्यवस्थापन र व्यावसायिक जोखिम सदैव रहन्छ । बुल ट्रयापबाट बच्न विभिन्न प्राविधिक विश्लेषणको समेत सहायता दिन सकिन्छ । कुनै पनि कम्पनीको शेयरमूल्य वृद्धिमा भोल्युम र मैनबत्तीको आकार डोजी स्टार देखिएको छ भने त्यो बुल ट्रयाप हुन सक्छ। त्यसैले कुनै सूचक अथवा कम्पनीको शेयरमूल्य बढ्नु जायज छ कि छैन भन्ने कुरामा सचेत भए यस्ता ट्रयापबाट बच्न सकिन्छ।
योसँगै हल्ला र सल्लाहमा लागेर लगानी गर्न छोड्नु पर्छ । त्यस्तै उचालिएको मूल्यको रफ्तारभन्दा पनि लगानी गर्ने कम्पनीको अवस्थालाई नियाल्नुपर्छ । यदि मूल्य थोरै छ तर कम्पनीको वित्तीय अवस्था राम्रो छ, बर्सेनि राम्रो लाभांश दिइरहेको छ भने त्यस्ता कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ र बुल ट्रयापमा पर्ने सम्भाना कम रहन्छ । अधिकांश लगानीकर्ता बढेको बजारमा जोशिने र घटेको बजारमा सेलाउने गर्दछन् । यो सही लगानीकर्ताका लागि घातक हुन्छ । वास्तवमा घटेको बजारको फाइदा उठाउँदै राम्रा कम्पनीको शेयर किन्नु पर्छ । तर, नयाँ तथा केही सोझा लगानीकर्ता बढेको बजारमा हौसिएर लगानी गर्ने र घाटामा जाने गर्दछन् ।
योसँगै माग र आपूर्तिको अवस्था पहिचान गरी जोखिमवहन क्षमताको आधारमा अनुशासित लगानी वा कारोवार गर्नुपर्छ । लोभको उचित व्यवस्थापन गर्दै निर्धारित सीमा वा अनुशासनभित्र रहेर निश्चित प्रतिशत मुनाफा हुँदा प्रोफिट बुक गर्ने गर्ने, एउटै कम्पनीको एकै पटक ठूलो परिमाणमा शेयर नकिन्ने र हल्ला र सल्लाहमा नपर्नु नै राम्रो हुन्छ । यसरी लगानी गर्नुपूर्व यी कुराहरूमा सावधानी अपनाए जुनसुकै लगानीकर्ताकुनै बाठा लगानीकर्ताको स्वार्थपूर्तिको माध्यम बन्नबाट बच्न सक्छन् भने सहजै शेयरबाट नाफा कमाउन पनि सक्छन् ।