भारत– भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको जानकारी दिए । ’घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,’ मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो । चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ । स्थानीय प्रहरी अधिकारीहरूले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने दाबी गरेका छन् ।
महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरूमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताए । उनीमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरूमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाइ थियो । – एजेन्सी