स्पेनिस क्लब बार्सिलोनाको लागि पर्याय जस्तै बनेका स्टार खेलाडी लियोनल मेस्सी र उक्त क्लबबीच नयाँ करार सम्झौता हुने भएको छ । मेसी र क्लबबीच सम्झौता हुन लागेकोे स्पेनिस पत्रिका एएसले जनाएको छ । विश्व चर्चित फुटबरल ३३ वर्षीय मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्ने बताइएको हो ।

गत सिजन क्याम्प नाउ छाड्ने अवस्थामा पुगेका मेस्सी र क्लबबीचको सम्बन्ध अहिले राम्रो भएका कारण उनी बार्सिलोनामा नै रहन चाहेको समाचारमा जनाइएको छ । आफ्नो निकटस्थ सर्जियो अगुएरोको क्लबमा आगमनले पनि मेस्सीलाई क्लबमा राख्न सहयोग पुगेको अनुमान गरिएको छ ।

क्लबका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग बार्साका स्टार फुटबलर लियोनल मेस्सीको सम्बन्ध चिसिए पछि उनले बार्सिलोना क्लब छोड्ने घोषणा नै गरेका थिए । पछि मेसी आवद्ध क्लबको जिम्मेवारी सम्हालेर नयाँ अध्यक्षका रुपमा जोआन लापोर्टा आएपछि भने मेस्सीको सम्बन्ध राम्रो रहेको बताइएको छ । नयाँ खेलाडी एरिक गार्सियालाई क्लबमा भित्र्याएको कार्यक्रममा बोल्दै लापोर्टाले केही दिनअघि मेस्सीसँग नयाँ करारका लागि भइरहेको छलफल सकारात्मक रुपमा अघि बढिरहेको बताएका थिए । ‘उनी यहाँ बस्न चाहन्छन् र हामी त्यो पुरा गर्न हरसम्भव प्रयास गर्नेछौँ,’ अध्यक्षका जोआन लापोटा भनेका थिए ।