चीनमा पहिलो पटक एक जना मानिसमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । चिनियाँ ४१ वर्षीय नागरिकमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि हो । चिनियाँ अधिकारीका अनुसार जियाङ्सु प्रान्तका ती सङ्क्रमित युवामा गएको हप्ता नै सङ्क्रमण भएको हो ।


ती व्यक्तिमा कसरी बर्ड फ्लूको सङक्रमण भयो भन्नेबारेमा चिनियाँ अधिकारीहरुले तथ्य सार्वजनिक गरेका छैनन् । तर बर्ड फ्लूको एच १० एन ३ स्ट्रेन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने सम्भावना न्यून रहेको बताइन्छ । बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमणबाट ती ४१ वर्षीय युवक मुक्त भैसकेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अप्रिल २८ मा चीनको नेशनल हेल्थ कमिसन (एनएचसी) मा सक्रमित ती युवक अस्पताल भर्ना भएका थिए । त्यसको एक महिनापछि उनका एच १० एन ३ को सङक्रमणको उपचार भएको हो ।


विश्वमा अहिलेसम्म बर्ड फ्लूको एच १० एन ३ स्ट्रेनको सङ्क्रमण मानिसमा पुष्टि भएको थिएन । यो सङक्रमण कुखुराबाट मानिसमा सरेको र बिस्तारित रुपमा सङ्क्रमण फैलिने सम्भावना ज्यादै कम रहेको एनएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले उल्लेख गरेको छ । बर्ड फ्लूका धेरै स्ट्रेनहरु छन् र कुखुरा तथा अरु पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिमा कहिले काहीं सङ्क्रमण हुने पाइएको छ । यसअघि रुसमा पनि एक व्यक्तिमा गत फेब्रअरीमा बर्ड फ्लूको एच ५ एन ८ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको थियो । डब्लुएचओले अहिलेको अवस्थामा मानिसबाट मानिसमा यो भाइरस सरेको कुनैपनि घटना नरहेको समाचार संस्था रोयटर्सलाई बताएको छ ।