चितवन – कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३ सय ८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए ।
यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका ७ हजार ७ सय सवारी साधनलाई कारबाही गरिएको छ । त्यसमा चारपाङ्ग्रे सवारी साधन १ हजार ४ सय ४५ र दुई पाङ्ग्रे सवारी साधन ६ हजार २ सय ६० रहेका छन् । उनीहरुलाई रु ५ सय देखि १ हजारसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ । 
निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारवाहीस्वरुप रु २२ लाख ९१ हजार ४ सय राजश्व सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा २ सय २१ जनाको मृत्यु भएको छ भने १३ हजार ८ सय ८९ सङ्क्रमित भएका छन् । सोमध्ये ४ हजार ८ सय ४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५०, होम आइसोलेशनमा रहेका ४ हजार ६ सय ७९ र सार्वजनिक आइसोलेशनमा रहेका १६ सङ्क्रमित छन् । –रासस