काठमाडौं – नेपालको औद्योगिक घराना चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ । चौधरी ग्रुपको सीजीनेटले हिजोदेखि काठमाडौंका केही स्थानबाट सेवा प्रारम्भ गरेको कम्पनीले जनाएको छ । सीजीनेटका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, झम्सिखेलमा उपलब्ध हुनेछ भने यो वर्ष देशभर आफ्नो सीजीनेट बिस्तार गरिसक्ने छ । नेपालमा निजी क्षेत्रमा नेटसेवा प्रदायक कम्पनीहरुले सेवा विस्तार गरेसँग आम सर्वसाधारण जनतामा इन्टरनेट सुविधाको पहुँच बढ्दै गएको छ ।
सीजीनेट कम्पनीका अनुसार काठमाडौं उपत्यकामा छिट्टै सेवा विस्तार गर्न लागिएको छ । सेवा विस्तारका लागि आवश्यक पूर्वाधार विस्तारको काम भइरहेको कम्पनीले जनाएको छ । सीजीनेटले तत्कालका लागि १२० एमबीपीएसको इन्टरनेट मासिक मूल्य अभिवृद्धि करबाहेक ९ सय ९९ रुपियाँमा उपलब्ध गराउने छ । १२० एमबीपीएसको इन्टरनेट सुविधाको मूल्य अन्य सेवाप्रदायक कम्पनीहरुको भन्दा सस्तो हो ।
अहिले औसतमा नै एक हजार तीन सय रुपियाँ हाराहारीमा रहेको फिक्स्ड इन्टरनेट कम्पनीले सुलभ मूल्यमा उपलब्ध गराएको हो । नेपालमा इन्टरनेट सेवाको मूल्य महङ्गो भएको गुनासो भैरहेको बेला सीजीनेटको प्रवेशले पक्कै पनि सेवाप्रदायक कम्पनीहरुको विच प्रतिस्पर्धा बढ्न गै इन्टरनेट प्रयोगकर्ताहरुको दु्रतगति र सस्तो मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउने छन् । सीजीनेट कम्पनीले आफ्नो नेटलाई गुणस्तर रहेकोले हाल उपलब्ध गराएको मूल्य नबढ्ने गरी नै देशैभर सेवा उपलब्ध गराउने दाबी गरेको छ ।