चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको ‘सिनोभाक’ खोप लाई आकश्मिक प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ । चीनले विकास गरेको ‘सिनोभाक’ दोस्रो खोप हो । यसअघि पनि चीनले नै विकास गरेको सिनोफार्मलाई आकश्मिक प्रयोगका लागि डब्लुएचओले स्वीकृति प्रदान गरेको थियो ।

डब्लुएचओले स्वीकृति प्रदान गरेसँगै यी चिनियाँ खोपहरु सबैलाई खोपको समान पहुँचका लागि सुरु गरिएकोले कोभ्याक्स अभियान अन्तर्गत प्रयोग गर्नका लागि बाटो खुला भएको छ ।

यद्यपि, डब्लुएचओले प्रमाणीकरण गर्नुभन्दा पहिले नै ‘सिनोभाक’ विश्वका विभिन्न देशमा प्रयोग भैरहेको छ । डब्लुएचओले यो खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने बताएको हो । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्ने डब्लुएचओको भनाइ छ । सिनोभाकले खोपको प्रभावकारिता, सुरक्षा र उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्लुएचओले बताएको छ ।

सिनोभाक खोप लगाएका मध्ये आधा लक्षणयुक्त सङ्क्रमणबाट जोगिन सक्ने र शतप्रतिशतलाई सङ्क्रमण भए पनि गम्भीर अवस्था आएर अस्पताल भर्ना हुने अवस्था नआउनले अध्ययनले देखाएको छ । चीनले विकास गरेको विश्व स्वास्थ्य संगठनले खोपलाई स्वीकृति प्रदान गरिएसँगै कोभ्याक्स अभियान अन्तर्गत खोपको वितरण सहज हुने अपेक्षा गरिएको छ ।