काठमाडौं– आगामी दुई वर्षभित्र देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारले दावी गरेको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले दुई वर्षभित्र देश दुध उत्पादनमा आत्मनिर्भर बन्ने दावी गर्नुभएको हो ।


मन्त्री अर्यालले ‘अबको दुई वर्षभित्र हामी दूधमा आत्मनिर्भर बन्छौं । प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौं’ भन्नुभयो । सरकारले आगामी आ.व. २०७८।०८९ को बजेटमा दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको भन्दै मन्त्री अर्यालले दुग्ध उत्पादका क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको दावी समेत गर्नुभयो । मन्त्री अर्यालले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको छ भन्दै दुग्ध उत्पादका क्षेत्रमा भएका समस्याहरु सम्बोधन गर्न नसके दुध दिवस मनाएको कुनै अर्थ नहुने बताउनु भएको छ ।