काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा समीक्षा गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । एकसाता अघि लागू गरिएको कडा निषेधाज्ञाको प्रभावकारिता र आगामी दिनमा निषेधाज्ञालाई के कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न प्रजिअहरुको बैठक बस्न लागेको हो ।


उपत्यकामा केही दिनदेखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा केही कमी देखिएसँगै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञामा परिवर्तन गरी केही खुकुलो बनाउन लागेको बताइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरेर आगामी दिनमा कस्तो मोडालिटीमा निधेषाज्ञा गर्ने बारेमा छलफल गरी उचित निर्णय गर्ने बताउनु भएको छ । नवसञ्चार अनलाइनसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले ‘ उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको वर्तमान अवस्था र स्वास्थ्य मन्त्रालयसँग पनि आवश्यक परामर्श र छलफल गरेर सोही अनुसार निषेधाज्ञाको मोडालिटीमा प्रति विचार गर्छौंं’ भन्नुभएको छ ।


पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले मानिसहरुको भीडभाडमा कमिआएको र त्यसैको प्रभावले कोरोना भाइरस महामारी नियन्त्रणमा सकारात्मक प्रभाव परेको प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ । खाद्य सामग्री बिक्री वितरणलाई केही व्यवस्थित र खुकुलो बनाउने गरी पुनः एकसाताका लागि निषेधाज्ञा थप गर्ने तयारी छ ।