विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विभिन्न देशमा देखिएका कोरोना भाइरसको भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ । डब्लुएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने जनाएको छ ।

डब्लुएचओले जनाएअनुसार बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएकोे छ । चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने कलङ्क वा धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको उसको भनाई छ ।

भारतले आफ्नो देशमा गएको अक्टोबरमा पहिलोपटक भेटिएको कोरोना भाइरसको बी.१.६१७.२ भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आपत्ति जनाएको थियो । तर डब्लुएचओले सो भेरियन्टलाई औपचारिक रुपमा भारतीय भेरियन्ट भनेको थिएन र पनि प्रयोगमा भने रहँदै आएको थियो ।

कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई कलङ्कित गर्न नहुने डब्लुएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले बताएकी छन् । उनले भेरियन्टमाथिको अनुगमन बडाउनु पर्ने र सङ्क्रमण रोक्नका लागि वैज्ञानिक तथ्यहरु साझा गरिनु पर्नेमा जोड दिएकी छन् ।

डब्लुएचओले आफ्नो वेबसाइटमार्फत् भेरियन्टका नामहरुको पूर्ण सूचि सार्वजनिक गरेको छ । नयाँ नामहरुले वैज्ञानिक नामलाई प्रतिस्थापित नगर्ने भन्दै डब्लुएचओले सार्वजनिक रुपमा सहज प्रयोगका लागि नामाकरण गरिएको जनाएको छ ।