कोपा अमेरिका आयोजना अब अर्जेन्टिनाले गर्न नपाउने भएको छ । कोपा अमेरिका आयोजनाको जिम्मेवारी प्रतियोगिता सुरु हुन मात्रै दुई हप्ता बाँकी हुँदा खोसिएको छ । अर्जेन्टिनामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा देखिए पछि कोपा अमेरिका २०२१ ब्राजिलमा हुन लागेको हो ।
अर्जेन्टिना बढ्दो कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिएर आयोजकको जिम्मेवारी खोसिएका दक्षिण अमेरिकी फुटबल कन्फेडेरेशन (कोन्मेबोल) ले जनाएको छ । अर्जेन्टिनाले कोलम्बियासँग मिलेर प्रयोगिता गर्ने तयारी थियो । तर कोलम्बियाको आन्तरिक समस्या चर्किँदै गएपछि मे २० मा उसलाई आयोजकको जिम्मेवारीबाट हटाइएको थियो ।
आगामी जुन १३ देखि सुरु हुने उक्त प्रतियोगिता अब ब्राजिलमा हुने निर्णय अमेरिकी फुटबल कन्फेडेरेशनले गरेको हो । प्रतियोगिताका ब्राजिलमा हुने भनिएता पनि अहिलेसम्म कुन रङ्गशालामा खेल खेलाउने भन्ने टुङ्गो लागेको छैन । अर्जेन्टिनामा प्रतियोगिताको आयोजनालाई लिएर विरोध चर्किँदै गएका बेला कोन्मेबोलले यस्तो निर्णय गरेको हो ।