मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका स्थित ज्यामिरेमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी जिप चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

पुर्व–पश्चिम राजमार्ग सडक खण्डमा पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा भएको दुर्घटनाबाट मृत्यु भएका चालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी गम्भीर घाइते भएका बारा जिल्लाको माहागढीमाई नगरपालिका वडा नम्वर–४ बस्ने केदारनाथ थारुलाई थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्वरको कुखुरा बोकेको बोलेरो जिप सडकबाट करिब ७० मिटर तल राप्ती नदीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान त्यस क्षेत्रमा भिषण वर्षा भैरहेको र जिप पनि तिब्रगतिमा गुडेको कारण दुर्घटना भएको प्रारम्भीक अनुमान गरेको भन्दै दुघटनाको बारेमा थप अनुसन्धान भइरहेको मकवापुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।