क्यानडामा एक्कासी तापक्रम बढ्न गै उखरमाउलो गर्मी कै कारण त्यहाँको जनजीवन अत्यन्त कस्टकर र पीडादायी बनेको छ । क्यानडामा अत्यधिक गर्मीका कारण ६९ जनाले ज्यान गुमाउन पुगेका छन् । मृत्यु हुनेमा अधिकांश उमेर ढल्किएका पाका मानिसहरु रहेको र यो मृत्यु अप्रत्याशित अर्थात् कल्पना भन्दा टाढा रहेको ब्रिटिस कोलम्बियाको प्रहरीले भनेको छ । बढ्दो तापक्रमसँगै तातो हावाका कारण ती मानिसहरुको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । दक्षिणी प्यासिफिक उत्तरपश्चिम क्षेत्रमा तापक्रम निरन्तर बढ्दो छ ।

ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको छ । यो हप्ता पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्रीभन्दा माथि पुगेको थिएन । क्यानडाको अधिकतम तापक्रम लगातार बृद्धि भै मङ्गलबारको दिन कीर्तिमानी तहमा पुग्यो । तापक्रम अझै केहीदिन उच्च रहने र तातो हावा चल्ने भन्दै सजग रहन इन्भाइरोमेन्ट क्यानडाले चेतावनी समेत दिएको छ । जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्न सक्ने भएकोले स्थानीय प्रशासनले स्थानीय बासिन्दासँग आफू र टोल छिमेकका बारेमा विशेष ध्यानदिन समेत अनुरोध गरेको समाचारमा जनाइएको छ ।

गर्मीको समस्या क्यानडामा मात्र होइन, अमेरिकामा पनि निरन्तर बढ्दो क्रममा रहेको छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० मा तथ्याङ्क राख्न थालिए यताकै उच्च विन्दुमा पुगेको छ । ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ डिग्री सेल्सियस र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको हो । यो तापक्रम अझ बृद्धिहुन सक्ने भन्दै स्थानीयहरुलाई सचेत रहन भनिएको छ । स्थानीय बासिन्दाले गर्मीका कारण आफूहरु मरुभूमिमा रहे जस्तै लागेको समाचार संस्था एएफपीसँग बताएको समाचारमा जनाइएको छ ।