जनकपुर– प्रदेश–२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. २०७८/७९ को बजेटमाथि छलफल गर्ने गरी मङ्गलबारको बैठक आह्वान गरिएको थियो । आज बैठक बस्दै नबसी स्थगित भएको बैठक आगामी असार २३ गते बस्ने प्रदेश सभा सचिवालयका सचिवले जानकारी दिनुभयो ।
गत असार १ गते प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुतिपछि त्यहीं दिन बसेको अर्को बैठक विपक्षी सांसदले अवरुद्ध गरेका थिए ।
संसदीय विकास कोषको रकम वृद्धि नगरेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेपछि आज मङ्गलबारका लागि बैठक आह्वान गरिएको थियो । तर, संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशङ्कामा प्रदेश सभा बैठक सारिएको हो ।
विपक्षी दलका सांसदले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख उपलब्ध गराउन माग गरेका छन् । सरकारी बजेट फ्रिज भइरहेको र सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेटले पूरा काम भइरहेको उनीहरुको दावी छ । प्रदेश सभा बैठक शुरु नहुँदा बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन ।