क्यानडामा गर्मीले अहिलेसम्मकै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ । पश्चिमी क्यानडास्थित ब्रिटिस कोलम्बिया प्रान्तको लाइटनमा आइतबार ४६.६ डिग्री तापक्रम पुगेको छ । क्यानडाका विभिन्न क्षेत्रमा यो हप्ता गर्मी चरम बिन्दुमा पुग्न सक्नेभन्दै यसअघि नागरिकहरुलाई सचेत रहन चेतावनी दिइएको थियो । यससँगै यो तापक्रमले लाइटनको ८४ वर्षको रेकर्ड तोडेकोे छ ।

यसबारे क्यानडाका वरिष्ठ वातावरण तथा मौसमविद् डेभिड फिलिप्सले सीटीभीमा बोल्दै ‘पश्चिम क्यानडाका केही भूभागमा अहिले दुबईमा भन्दा धेरै गर्मी छ’ भनेका थिए । उनका अनुसार केही स्थानमा तापक्रम ४७ डिग्री पार गर्ने प्रबल सम्भावना रहेको छ ।

विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण यस किसिमका असामान्य मौसमी घटनाहरु आगामी दिनमा झन बढ्दै जानेछन् । यो चरम गर्मीको अवस्था अमेरिकाको क्यालिफोर्नियाबाट क्यानडाको आर्टिक क्षेत्रसम्म फैलिएको बताइएको छ । यससँगै गर्मी बढेका ठाउँहरुमा एसी, फ्यान लगायत चिसो पार्ने यन्त्रहरुको प्रयोग अत्याधिक बढेको छ । त्यहाँका केही रेस्टुरेन्ट, बार र कतिपय ठाउँमा स्वीमिङ पुल समेत अत्याधिक गर्मीका कारण सञ्चालनमा आउन नसकेको बताइएको छ ।

भेनकोभरको उत्तरपूर्व तर्फबाट २५० किलोमिटरको दुरीमा रहेको लाइटन सहित ब्रिटिश कोलम्बियाका ४० भन्दा धेरै स्थलमा अहिलेसम्मकै गर्मी आभास गरिएको बताइएको छ । ब्रिटिश कोलम्बियाको ऊर्जा प्रदायकले यसअघि एसी चलाइराख्ने व्यवस्थाका लागि विजुलीको मागमा वृद्धि भएको जनाएको थियो । हाल अल्बेर्टा, सासकेचेवन, युकोन र उत्तरतर्फका क्षेत्रहरुमा पनि सावधानी अपनाउन क्यानडाको वातावरण निकायले भनेको छ । यसको चेतावानीमा ‘यो हप्ताभर लामो समयसम्म रहनेगरी खतरनाक र ऐतिहासिक गर्मीको लहर आउने प्रक्षेपण रहेको र तापक्रम सामान्य अवस्था भन्दा १० देखि १५ डिग्रीले बढ्ने अनि धेरै स्थलमा ४० डिग्री पार गर्ने’ भनिएको छ ।

क्यानडा जस्तैगरी यता अमेरिकाको वासिङटन र आरेगोन स्टेटमा पनि गर्मीले नयाँ रकेर्ड बनाएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले हालको तातो लहरलाई ऐतिहासिक उल्लेख गरेको छ । त्यस्तै सधैँ पानी परिरहने मौसमका लागि चर्चामा आउने सिएटल र पोर्टल्यान्डमा समेत सोमबार अहिलेसम्मकै उच्च तापमान महसुस गरिएको थियो । दुवै ठाउँमा तापक्रम ४० डिग्री पार भएको छ । यसले खेतीमा पनि उल्लेखनीय असर पार्ने बताइएको छ ।
स्रोत : बीबीसी