अफ्रिकी मुलका व्यक्तिहरुमाथि हुँदै आएको रङ्गभेदी व्यवहारको भुल सुधार या भरणका लागि संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । उक्त आयोगले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विभेद तथा भेदभावलाई सम्बोधन गर्न माफीसँगै शैक्षिक सुधारको व्यवस्था गर्नु पर्नेभन्दै सुझाव दिएको छ । तीन सयभन्दा धेरै विशेषज्ञ र अफ्रिकी मुलका व्यक्तिसँगको छलफल गरे पश्चात् संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगले उक्त प्रतिवेदन तयार पारेको थियो । रङ्गभेद र त्यसका आधारमा भइरहेको अन्याय अन्त्यका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघले आग्रह गरेको छ ।

ब्ल्याक लाइभ्स म्याटर समूहले गरेको कामको प्रशंसा गर्दै आयोगले सो समूहलाई आर्थिक सहयोग, सार्वजनिक पहिचान तथा सहयोग गर्नु पर्ने कुरा उल्लेख गरेको छ । आयोगको प्रतिवेदन सन् २०२० मा अमेरिकामा प्रहरीको ज्यादतीका कारण मारिएका निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडबाट सुरु भएको छ । फ्लोइडको निधनपछि अमेरिकासहित विश्वभर रंगभेदविरोधी आन्दोलन नयाँ गतिमा अगाडि बढेकोे थियो ।

यसैक्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटले सोमबार एक वक्तव्य जारी गर्दै सबै राज्यहरुले रङ्गभेद छ भन्ने कुरालाई अस्वीकार गर्न छोडेर रङ्गभेदलाई भत्काउन तर्फ लाग्नु पर्नेमा जोड दिनुभएको छ । अफ्रिकी मुलका व्यक्तिहरुको कुरा सुन्न तर्फ लाग्नु पर्ने पनि बाचेलको आग्रह छ । शताब्तीयौँदेखि हुँदै आएको रङ्गभेदको भरण पोषणका लागि विभिन्न स्वरुपको क्षतिपूर्ति, माफीसहितका उपाय अपनाउन उक्त प्रतिवेदनले सुझाएकोे छ ।