ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले सहज जित निकालेकोे छ । विश्व विख्यात फुटबलर लियोनल मेस्सीको नेतृत्वमा रहेको समूह ‘ए’ को टिम अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलको फराकिलो अन्तरले हराएकोे हो । यस खेलमा दुई गरेको मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबैभन्दा धेरै १४८ खेल खेल्ने कीर्तिमानी इतिहास बनाए छन् ।

अर्जेन्टिनाका लागि छैटौँ मिनेटमा अलेहान्ड्रो डारिओ गोमेज गोल गर्दा ३३ औँ मिनेटमा पेनाल्टीमार्फत् र ४२ औँ मिनेटमा सुन्दर गोल गर्दै मेस्सीले दुई गोल गरे । खेलको ६५ औँ मिनेटमा अर्जेन्टिनाका लागि चौंथो गोल लौतारो मार्तिनेजले गर्दा जित सहज बन्यो । बोलिभियाका लागि भने ६० औँ मिनेटमा एर्विन साभेड्राले एक गोल फर्काए ।

यसैबिच आजै बिहान भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गरेको छ । २१ औँ मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गरेको गोल नै उरुग्वेको जितका लागि निर्णायक बन्यो । समूह ए बाट बोलिभिया बाहिरिएको छ । यो जितसँगै अर्जेन्टिना १० अङ्कसहित समूह विजेता तथा सात अङ्कसहित उरुग्वे उपविजेता बन्दा क्वाटर फाइनलमा पुगेको पाराग्वेको ६ तथा चिलेको पाँच अङ्क छ ।
क्वाटरफाइनलमा प्रवेश गरेको अर्जेन्टिनाले अब इक्वेडरसँग, उरुग्वेले कोलम्बियासँग, पेरुले पाराग्वे, ब्राजिलले चिलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।