विश्व विजेता फ्रान्स स्विट्जरल्याण्डसँग पराजय भोग्दै युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिन पुगेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सेली खेलाडी केलिएन एमबाप्पेले गोल गर्न नसक्दा स्विट्जरल्याण्ड्सँग ५–४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा टुङ्गिएको हो ।
प्रिक्वाटरफाइनलबाटै बाहिरिएको फ्रान्स युरोकपको दावेदार टिम मानिएको थियो । भाग्यले स्विट्जरल्याण्डलाई साथ पनि दियो । स्विट्जरल्याण्ड ऐतिहासिक जित निकाल्दै पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डले यस्तो जित निकाल्न ६७ वर्ष कुर्नुपर्यो । भण्डै सात दशकयता स्विट्जरल्याण्ड ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो नै पहिलो हो ।

सोमबार राती रोमानियामा भएको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेलमा दुवै टिमले ३–३ गोलको बराबरीमा खेलेपछि हार जित छुट्याउन अन्तिममा खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा फ्रान्सेली टिमका हस्ति केलिएन एमबाप्पेले गोल गर्न चुक्दा स्वीट्जरल्यान्डले बाजी मा¥यो ।

पेनाल्टीमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सार, म्यानुएल अकान्जी, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । स्विट्जरल्याण्डका गोलकिपर यान सोमेरले फ्रान्सका एमबाप्पोको प्रहार रोक्दै जित दिलाए । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । एमबाप्पे भने पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।

खेलमा पहिलो सुरुवाती गोलका लागि स्विट्जरल्यान्डले खाता खोलेको थियो । खेल सुरुभएको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको सुरुवाती १० मिनेटमा अर्थात् ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टी पायो । तर उक्त पेनाल्टीलाई रिकार्डो रोड्रिगेजले सदुपयोग गर्न नसक्दा स्विट्जरलयाण्डले अग्रता दोब्बर पार्ने अवसर गुमेको थियो । उनको पेनाल्टी प्रहार फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिसले रोकिदिएका थिए ।

फ्रान्सका लागि करिमब बेन्जामाले ५७ औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काए । पहिलो गोल गरेको दुई मिनेटमै फ्रान्सका लागि उनैले दोस्रो गोेल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए । फ्रान्स दुई गोलको अग्रतापछि जितको नजिक पुगेको थियो । खेलमा फर्कने प्रयत्न गरिरहेको स्विट्जरल्यान्डले ८१ औं मिनेटमा सेफेरोभिबचले सुन्दर ढङ्गले हेडरमार्फत् व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्याए ।


खेल सकिन केही मिनेटमात्र बाँकी रहँदा स्विट्जरल्यान्डका लागि ९० औं मिनेटमा मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल नाटकीय रुपमा मोडिन पुग्यो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमको खेल ३–३ गोलमा सकियो । थप गरिएको ३० मिनेटमा पनि दुवै टिमबाट कुनै गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको हो । फ्रान्सका चर्चित युवा खेलाडी एमबाप्पेको पेनाल्टी प्रहार रोक्दै स्वीस टिमका गोलकिपर यान सोमेरले आफ्नो टिमलाई ऐतिहासिक जित दिलाउन उनी नायक सावित भए । स्विट्जरल्यान्डसन् १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो । त्यसपछि अहिले ६७ वर्षको अन्तरालमा मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पहिलो पटक प्रवेश गर्न सफल भयो । साविक विजेता पोर्चुगल पछि साविक उपविजेता तथा उपाधि दाबेदार फ्रान्स पनि अन्तिम १६ बाटै आउट भएपछि युरोकप रोमाञ्चक बनेको छ ।