काठमाडौं – १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइलन खेलमा विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा स्पेनका अल्भारो मोराटा र मिकेल ओयारजाबलले एक एक गोल गरेका थिए । मोराटाले एक सय र एक सय ३ औँ मिनेटमा ओयारजाबलले गोल गरेका हुन् ।

दुवै गोलमा डानी ओल्मोले क्रसमार्फत पास उपलब्ध गराएका थिए । ओयारजाबल ८८ र ओल्मो ७१ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । त्यसअघि अन्तिम समयमा २ गोल गर्दै क्रोएसिया निर्धारित ९० मिनेटमा बराबरीमा फर्किएको थियो । खेलमा ३–१ गोलले पछाडि रहेको अवस्थामा मिस्लाभ अर्सिचले ८५ र मारियो पसालिचले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए । अर्सिच ६७ र पसालिच ७९ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

त्यसअघि क्रोएसियाले आत्मघाती गोलमार्फत अग्रता लिएपनि स्पेनले त्यसपछि लगातार तीन गोल गरेको थियो । स्पेनका पेड्रीले दिएको ब्याक पास स्पेनका गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा २० औँ मिनेटमा आत्मघाती गोल भएको थियो । खेलमा सुरुवाती अग्रता भने क्रोएसियाले बनाएको थियो । खेलको २० औँ मिनेटमा युना सिमोनको आत्मघाती गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । तर स्पेनले ३८ औँ मिनेटमा खेल बराबरीमा ल्यायो। पाउलो सराबियाले हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमै स्पेनले अग्रता लिएको थियो। ५७ औँ मिनेटमा सिजर एज्पुलिकुएटाले गोल गरेका थिए। फेरान टोरेसले ७७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । प्रतियोगिताअन्तर्गत केहीबेरमा हुने अर्को प्रिक्वाटरफाइनलमा फ्रान्स र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।