इराक र सिरियामा रहेका इरानको साथ पाएका बिद्रोही समूहलाई लक्षित गर्दै अमेरिकाले हवाई आक्रमण सुरु गरेको छ । उक्त कुराको जानकारी अमेरिकी रक्षा मन्त्रालयले दिएको हो । ति बिद्राही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन आक्रमण गरेपछि जवाफी कारवाही स्वरुप अमेरिकाले हवाई आक्रमण गरेको पेन्टागनले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

बिद्रोही समूहको कार्यसञ्चालन तथा हतियार भण्डारण केन्द्रहरुलाई हवाई आक्रमणको निशानामा रहेको पेन्टागनले जनाएकोे छ । पेन्टागनको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति जो बाइडेन अमेरिकीहरुको सुरक्षाका लागि गर्नु पर्ने कामहरुमा स्पष्ट हुनुहुन्छ ।’

गत जनवरी अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि इरानको साथ पाएका बिद्रोही समूहमाथि अमेरिकाले गरेको यो दोस्रो हवाई आक्रमण हो । पछिल्लो महिनामा इराकमा रहेका अमेरिकी सैनिकलाई लक्षित गरी विद्रोहीहरुद्वारा पटक पटक ड्रोन आक्रमण भएको छ । इरानले यसमा आफ्नो कुनै संलग्नता नभएको भन्दै आफु माथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ ।

इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्धको अभियानका लागि खटिएका मध्ये अझै पनि करिब २५ सय अमेरिकी सैनिकहरु तैनाथ छन् । रक्षात्मक प्रयोजनका लागि गरिएको हवाई आक्रमणका दुई निशाना सिरिया तथा एक निशाना इराकमा रहेको पेन्टागनले जनाएको छ ।ती निशानाहरुको प्रयोग इरानको साथ पाएका काताइब हेज्बुल्लाह र काताइब सय्यीद अल–शुहादाले प्रयोग गर्दै आएका थिए ।